घडीले बिहानको ३ बजेर १३ मिनेट देखाइरहँदा रेडियो इन्स्पेक्टर अशोककुमार कम्प्युटरतर्फ मोडिएका छन्।

त्यहाँ देखिँदै गरेको दृश्यले उनको अनुहार अररो हुन्छ। ‘जुम’ गर्दै नजिकबाट हेर्न खोज्छन्। एउटा अनधिकृत ‘एसयुभी’ गाडी पन्टुन पुल काटेर आइरहेको छ।

आज फेब्रुअरी ९ तारिख हो। केही दिनमै यहाँ हिन्दुहरूको वार्षिक ‘माघे संक्रान्ति मेला’ हुँदैछ, जसमा एकै दिन दसौं लाख मानिसको ओइरो लाग्ने छ। यसपालि भीड नियन्त्रण गर्न एकीकृत कमान्ड तथा नियन्त्रण केन्द्र (आइसिसिसी) परिचालनको दायित्व अशोक र उनको टोलीले सम्हालेको छ।

यो भारतको उत्तरप्रदेश राज्यमा पर्ने प्रयागराज हो, जहाँ गंगा, जमुना र किम्बदन्तीमा वर्णित सरस्वती नदीको संगम हुन्छ। यही ‘पवित्र’ विन्दुमा भारत र वरपरका तीर्थालुहरू बर्सेनि जम्मा हुने गरेका छन्। यसरी भेला भएपछि नदीमा डुबुल्की लगाएर स्नान गर्दा पाप पखालिने विश्वास उनीहरूबीच परम्परादेखि चल्दै आएको छ।

म यतिबेला आइसिसिसीको ठूलो सेतो कोठामा छु, जहाँ दुईतिर लहरै राखिएका डेस्कमा बसेर प्रहरीहरू मेला नियालिरहेका छन्। प्रत्येक कक्षका प्रहरी आफ्नो सामुन्ने राखिएको कम्प्युटरमै एकोहोरिएका देखिन्छन्, जसले मेलाभर छरिएका सात सय थान सिसी क्यामराले खिचेका दृश्य निरन्तर सम्प्रेषित गरिरहेका छन्।

भिडियोले भरिएको एउटै पर्खालमा ५५ इन्चका टिभी स्क्रिन दसवटाका दरले दुई लहरमा राखिएका छन्। प्रहरीका कुर्सी पछिल्तिर झुन्ड्याइएका खाकी ज्याकेटमा ‘उत्तर प्रदेश पुलिस’ अंकित छ। यी प्रहरी अधिकारीहरू भुइँमा ओछ्याइएको गलैंचामाथि खाली खुट्टाले लगातार थप्थप्याइरहेका छन्। उनीहरू ‘सबथोक ठिक त छ?’ भन्ने भावले एकअर्कालाई नियाल्ने र लगत्तै सकारात्मक प्रतिक्रियाबाट सन्तुष्ट हुने गरिरहेका देखिन्छन्।

अनुगमन गर्ने टोली सतर्क छ। अशोक र उनको टोली १२ घन्टे ड्युटी पूरा गर्न गए राति आठ बजेदेखि यहाँ खटिएका हुन्।

आज माघी पूर्णिमाको दिन, पहिलो स्नान गर्ने तीर्थालुहरूको जमघट बिहान तीन बजेदेखि नै सुरू हुन्छ, जसमा ७५ लाख मानिस जम्मा हुने प्रहरीको अनुमान छ। यसरी एकै दिन यति धेरै तीर्थालु दुई साताअघि पनि जम्मा भएका थिए, जति बेला यो संख्या एक करोड १० लाख नाघेको थियो।

गंगाजीमा डुबुल्की लगाएपछि आज दसौं लाख भक्तजन आफ्नो घर फिर्नेछन्। धेरैले आफूलाई घर लैजान आउने परिवारका सदस्यसँग निकै दिनपछि भेटघाटको मौका पनि पाउनेछन्।

यो भीमकाय भीडलाई काबुमा राख्नु नै अशोकको जिम्मेवारी हो। उनको दिमागमा हरक्षण सम्भावित घटनाहरू कुदिरहेका हुन्छन्, जसमा भागदौड, आतंकवादी हमलादेखि चोरीचकारीसम्म पर्छन्।

उनी कम्प्युटर स्क्रिनमा देखिएको दृश्य हेर्दै तत्काल फोन गर्छन्। केही मिनेटमै अघि पन्टुन पुल नाघेर आइरहेको अनधिकृत मोटरको यथार्थ पत्ता लाग्छ। कम्प्युटरमा प्रहरीका एक जना अधिकृत देखा पर्छन्, जसले पुलमुनि तारबार लगाउन खोजिरहेको दृश्य उघ्रिन्छ।

बाहिर आकाशको एउटा कुनामा सूर्योदयअघिको लालिमा फैलिन थालिसकेको छ। रातभरि उज्यालो फैलाउने चम्किला बत्तीहरू बिहानीको आलोकसँगै धमाधम निभ्ने क्रम सुरू भएको छ। पानीमा लश्करै राखिएका डुंगाहरूको कालो छायाँ विस्तारै उघ्रिँदै जान थालेका छन्। हावामा एक प्रकारको धार्मिकता बगिरहेको छ, जसको मिश्रणले सम्पूर्ण वातावरणमा उत्सवमय सुवास फैलिरहेको महशुस हुन्छ।


पृथ्वीमै सबभन्दा धेरै मानिसको घुइँचो हुने थलो हो कुम्भ मेला, जसको लघु स्वरुप यसै माघ मेलालाई मानिन्छ।

प्रत्येक छ वर्षमा एकपटक आउने कुम्भ मेला पछिल्लोपटक सन् २०१९ मा लागेको थियो। गत वर्ष ४९ दिनसम्म चलेको यो मेला अवधिमा संगमको डुबुल्की मार्नेहरूको संख्या २५ करोड नाघेको थियो। तीन नदीको यो मिलन विन्दुमा एकै दिन ५ करोडसम्मको भीड जम्मा भएको थियो।

यति धेरै मानिस ओइरो लागेको इतिहासमै यो दोश्रो घटना बन्न पुग्यो।

मेलाको तयारी क्रममा दसौं हजार अधिकारीले महिनौं लगाएर गंगा नदी किनारमा एउटा अस्थायी विशाल सहरै बसालेका हुन्छन्। माथिबाट हेर्दा पानीका साना-ठूला धर्काले छुट्टयाएको यो आफैंमा बुट्टेदार बस्ती बन्न पुग्छ। त्यतिले नपुगेर मेलालाई नै ध्यानमा राख्दै थुप्रै टेन्ट, झोलुंगे पुलदेखि फलाम ओछ्याइएका सडकहरूसम्म जताततै तयार पारिएका हुन्छन्।

जतिसुकै तामझाम भए पनि आखिरमा यीमध्ये कसैको स्थायित्व रहँदैन। बर्सेनि पानीको भेल बढेसँगै नदीले किनारै बगाएर लैजाने भएकाले यसरी तयार पारिएको ज्यूँदोजाग्दो सहर केही महिनामै गंगाजीमै सेलाएर विलिन हुन पुग्छ।

त्यसैले नदीको स्वभाव ध्यानमा राखेरै वर्षैपिच्छे मेलाका निम्ति फरक भौतिक संरचनाहरू तयार पारिँदै आएको छ। मनसुन सकिएलगत्तै जब गंगा शान्त हुन्छिन्, त्यससँगै अर्थात् प्रायः अक्टोबर महिनाबाटै जग खन्ने कामको थालनी हुन्छ। अस्थायी सडकहरूको खाका कोरिन्छ। पानीको धारले छुट्टयाएका भूमि जोड्न पन्टुन पुलहरू खडा गरिन्छन्। नदी किनारै किनार घाटहरू तयार पारिन्छ, फलामे पाताले बाटाहरू तेर्स्याइन्छन्, पाइपहरू ओछ्याउनुका साथै लठ्ठा उभ्याएर बिजुलीका तार तानिन्छन्। पानीमाथि हल्लिरहने तीन माइल लामो घाटमै नुहाउने प्रबन्ध मिलाइएको हुन्छ, जहाँ कथंकदाचित् मानिस भेलमा पुग्न थाले तत्काल उद्धारनिम्ति पानी भित्रभित्रै जाली ओछ्याइएका हुन्छन्।

यो वर्ष अरू बेलाभन्दा फरक के भने, गंगाजीमा पानीको सतह माथिसम्मै बगिरह्यो।

‘यसपाला भुइँको काम थाल्न हामीले नोभेम्बरसम्मै पर्खनुपरेको थियो,’ मेलाको प्रबन्धमा लागेका सरकारी कर्मचारी रजनिश मिश्रा भन्छन्, ‘त्यसपछि पनि निरन्तर भारी वर्षाले भौतिक संरचनाको कामले डिसेम्बर अन्त्यसम्मै बाधा खेपिरह्यो।’

यो वर्ष मेला २७० हेक्टर (६६७ एकड) भन्दा बढी भूभागमा फैलिएको थियो। त्यो भनेको युरोपको सिंगो मोनाको सहरभन्दा ३० प्रतिशत बढी जमिन हो। यो क्षेत्रफलको प्रशासनिक प्रबन्ध मिलाउन छवटा बेग्लाबेग्लै भागमा विभाजित गरिएको थियो। यसरी फराकिलो भौतिक संरचना तयार पार्नु भनेको बन्दोबस्तीको प्रबन्ध मिलाउन उत्तिकै ठूलो चुनौती उभ्याउनु पनि हो।

मेलामा १३ वटा प्रहरी कार्यालय र त्यसमातहत ४० वटा पुलिस चौकी तयार पारिएका थिए। त्यसैगरी पाँचवटा बिजुलीअड्डा खडा गरिएका थिए। चालू अवस्थाको शल्यकक्षसहित प्रत्येकमा २५ वटा शैय्या अटाएका पाँचवटा अस्पताल बनाइएका थिए। त्यसैगरी ल्याब, परीक्षण सुविधादेखि एम्बुलेन्ससम्म तैनाथ देखिन्थ्यो।

यति सबै गर्न टन्नै खर्च पनि लाग्थ्यो। यो वर्षको मेलानिम्ति राज्य सरकारले ७ करोड ७० लाख अमेरिकी डलर विनियोजन गरेको थियो। गएको वर्ष कुम्भ मेलानिम्ति चाहिँ ५५ करोड ८० लाख अमेरिकी डलर खर्च भएको थियो।

मेलामा प्रयोग गरिएका तमाम सूचना प्रविधिको परिचालन आइसिसिसीकै दायित्वमा छ, जसनिम्ति तीनतल्ले पक्की भवनको उद्घाटन एक वर्षभन्दा थोरैअघि स्वयं प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका थिए। मेला क्षेत्रमा रहेका थोरै स्थायी संरचनामध्ये एउटा यो भवन पनि हो। यसबाहेक एउटा मन्दिर र सोह्रौं शताब्दीकै एउटा किल्ला पनि यहाँका स्थायी संरचनामध्ये पर्छन्।

भवनभित्रको अनुगमन कक्षमा ‘भिडियो सर्भिलेन्स सिस्टम’ जडान गरिएको छ, जसले आकाशबाट खिचिएका मेलाका दृश्य देखाइरहन्छन्। त्यसैगरी अर्को कक्ष ‘वायरलेस ग्रिड रुम’ छ, जसले यसरी संकलित दृश्यहरू र परिचालित कर्मचारीबीच समन्वयको काम गर्छ।

तेस्रो कक्ष चाहिँ ‘वार रुम’ हो, जहाँ अग्नि नियन्त्रक, जल नियन्त्रक, प्रहरी विभाग र सेनाका समेत जनशक्तिलाई चौबीसै घन्टा आपतकालीन सेवाका निम्ति तैनाथ राखिएको हुन्छ। अन्तिम कक्ष भने ‘कल सेन्टर’ छ, जसले सञ्चार सेवा प्रदान गरिरहेको हुन्छ।

यहाँ भएका प्रविधिमध्ये सबभन्दा प्रचलित भीड नियन्त्रण उपकरण (क्राउड म्यानेजमेन्ट एप्लिकेसन, सीएमए) हो। यसले मेलाभरि छरिएर रहेका सात सयवटा क्यामराले दिने सूचनाका आधारमा भीडको सघनता नियालिरहेको हुन्छ। प्रत्येक सिसिटिभी क्यामराले भूमिको कति भाग ओगट्छ भन्ने जानकारी यो प्रणालीले राखेको हुन्छ, जसका आधारमा जुनसुकै क्षण यसले कुन ठाउँमा कति मानिस थुप्रिएका छन् भन्ने जानकारी ८५ प्रतिशत मिल्ने हिसाबले दिइरहेको हुन्छ।

प्रतिवर्गमिटर तीन जनाभन्दा बढी मानिस जम्मा भएका छन् भने यो प्रणालीले चेतावनी दिन सुरू गर्छ। चेतावनी पाउनेबित्तिकै मैदानमा खटिएका प्रहरी टोलीले कहाँनिर मानिसलाई जानबाट रोक्ने, कताका मानिसलाई थामेर राख्ने वा भीडलाई कतातिर मोडिदिने भन्ने हिसाबले काम गर्न सुरू गरिहाल्छन्।

यो उपकरण जडान गर्नुअघि पनि आइसिसिसीलाई समेत आफ्नो मातहतमा राखेको ‘प्रयागराज स्मार्ट सिटी मिसन टिम’ ले भीड नियन्त्रणनिम्ति थुप्रै उपाय अवलम्बन गरेको थियो। त्यसमध्ये एउटा कुनै निश्चित भेगमा कति स्मार्टफोन छन् भन्ने हिसाबले भीडको सघनता पत्ता लगाउने थियो। तर, यो उपायलाई उत्तिखेरै खारेज गरियो।

सहायक प्रबन्धक विपिन सिंहका अनुसार माघ मेलामा आउने अधिकांश तीर्थालुले स्मार्टफोन प्रयोगै नगर्नु त्यसको मुख्य कारण थियो। भारतमा केवल ५० करोड अर्थात् मुश्किलले जनसंख्याको एकतिहाइ मानिसले मात्र स्मार्टफोन प्रयोग गर्छन्। त्यसबाहेक धेरैजसो परिवारले त एउटै फोन बाँडचुड गरेर काम चलाइरहेका हुन्छन्। त्यसमा पनि प्रहरीको लगतअनुसार यस्तो माघ मेलामा झन्डै ९५ प्रतिशत ओइरिने ग्रामीण जनसंख्याले त प्रायः यी चिज प्रयोगै गर्दैनन्।

‘यता प्रणालीले स्मार्टफोनलाई गनेर तीन जना मानिस देखाइरहेको हुन्छ,’ सिंह भन्छन्, ‘उता मैदानमा सय जना मानिस थुप्रिसकेका हुन्छन्, जसमध्ये ९७ जनाले या त सस्तो खाले मोबाइल प्रयोग गरिरहेका हुन्छन् वा फोनै बोकेका हुँदैनन्।’

गएको वर्ष अधिकारीहरूले अनुहार हेरेर भीड पत्ता लगाउने प्रणाली पनि प्रयोग गरी हेरेका थिए। त्यसले टाउकाका आधारमा गोटागन्ती गर्ने, भीडको चाल पत्ता लगाउने र निश्चित दुरी तय गर्न मानिसलाई कति समय लागिरहेको छ भन्नेजस्ता तथ्य पत्ता लगाउनेछ भन्ने हिसाब राखिएको थियो। तर, यस्ता मेलामा आउनेहरू प्रायःले टाउकामा गुन्टा वा पोका बोकेर हिँडडुल गर्ने भएकाले त्यो उपाय पनि फेल खायो। प्रत्येक टाउका गनेर हिसाब निकाल्ने प्रणालीले पोकापन्तुरा पनि गन्ती गरिदिन थालेपछि झनै अलमल बढ्न पुगेको हुनसक्छ।

मेलामा आउने कारहरू पत्ता लगाउने प्रणाली चाहिँ सफल भयो। नम्बर प्लेटका आधारमा पत्ता लगाउने प्रणाली (दी अटोमेटेड नम्बर प्लेट रिकग्निसन सिस्टम, एएनपिआर) ले त्यहाँ भित्रिने वा बाहिरिने प्रत्येक सवारी साधनको लाइसेन्स नम्बरका आधारमा रेकर्ड राख्ने गरेको थियो। त्यसै आधारमा सवारी चोरी वा कुनै प्रकारको अपराधमा प्रयोग गरिएको भए पनि ‘डेटाबेस’ का आधारमा फेला पार्न सकिन्थ्यो।

प्रहरीले खोजेको गाडी देख्नेबित्तिकै प्रणालीले संकेत दिन सुरू गर्थ्यो। सिंहका अनुसार यस माघ मेलामा प्रशासनले एएनपिआर जडित क्यामराहरू सहरभरि आठ स्थानमा राखेको थियो। यो संख्या अझ बढाउने योजना रहेछ।

‘आगामी मेलामा,’ उनले थपे, ‘आठवटालाई बढाएर अब २८ वटा स्थानमा यस्ता क्यामरा राख्ने तयारी गरिरहेका छौं।’


अहिले बिहानको ७ बजेर १७ मिनेट गएको छ। ममता शर्मा घुँडासम्म डुब्ने गरी नदी किनारमा खडा भएकी छन्।

गंगाको पूर्वतर्फ अनुहार पारेर उभिएकी उनका हात नमस्ते मुद्रामा छन्। घरिघरि विनम्र भावमा टाउको निहुराउने उनी मनमनै मन्त्रोच्चरण पनि गरिरहेकी छन्। ममता एकाएक उभिएकै स्थानमा नदीभित्र डुबुल्की मार्छिन्। यसलाई उनी चारपटक निरन्तरता दिन्छिन्।

ठिक त्यति बेला नदी किनार प्रार्थना गरिरहेका तीर्थालुहरूको भीडमाथिबाटै एक हुल चराहरू उडेर जान्छन्। तर, त्यहाँ कसैलाई कसैको परवाह छैन।

कुनै धार्मिक व्यक्तिले फलफूलको सानो टुक्रा निमोठेपछि जब त्यसलाई ढोग्दै नदीतर्फ हुत्याइदिन्छन्, उड्दै गरेका चराहरूमाझ ती टुक्रालाई पानीभित्र डुब्नुअगावै झम्टिने प्रतिस्पर्धा चल्छ।

केही धर्मात्माहरू भने डुंगा भाडामै लिएर नदीको त्यो विन्दुसम्म पुग्ने तरखर गरिरहेका देखिन्छन्, जुन विन्दुलाई त्रिवेणीको संगम ठानिएको छ। त्यस विन्दुमा पुगेपछि भक्तहरू नदीलाई ढोगिरहेका, डुबुल्की लगाइरहेका र घर लैजान प्लास्टिकका डब्बामा जल भरिरहेका देखिन्छन्।

डुंगा चलाउने अजय निसादका अनुसार संगममा फरक-फरक रङको सम्मीश्रण पनि देखिन्छ। ‘सेतो देखिएको पानीको धारा गंगा हो,’ उनी भन्छन्, ‘अनि कालो देखिएको चाहिँ जमुना।’

यसो भनिरहँदा उनी नदीतर्फ घोरिएर हेरिरहेका हुन्छन् अनि उनलाई हेर्ने बाँकीले चाहिँ सजिलै विश्वास गरिरहेको देखिन्छ।

डुंगाको भाडा तिर्न नसक्ने अधिकांश तीर्थालु छेवैको नदी किनारमा डुबुल्की मारेर चित्त बुझाइरहेका हुन्छन्। असाध्यै धेरै भीड नलागोस् भनेर मेलाको व्यवस्थापन समितिले पनि सकभर उता जानुभन्दा यिनै छेउ किनारतिरै बढी मानिस अल्झिऊन् भन्ने कामना गरिरहेका हुन्छन्।

यतिन्जेल ममता नदीमा पूजा सिध्याएर बाहिर निस्किसकेकी छन्। निथ्रुक्क शरीर कामिरहेकै बेला उनलाई मेलामा आउन नपाएकी आमासँग कुरा गर्न मन लाग्छ। ‘भिडियो कल’ गर्छिन्। ममताले संगमतर्फको दृश्य देखाउन फोनको क्यामरा घुमाइदिन्छिन्। उता रसिलो आँखामा आमाले बारम्बार ढोग्दै गरेको देखिन्छ।

भिजेको जीउ पुछपाछ गरिसकेपछि ममता एकैछिन आकाशतिर केही छ कि भनेर हेर्छिन्। कुनै कुनै विशेष दिनहरूमा मेला व्यवस्थापनले हेलिकप्टर प्रयोग गरेर स्नान गरिरहेका तीर्थालु मास्तिरबाट फूलको वर्षा पनि गराइदिने गरेका छन्। त्यस्ता थुप्रै दृश्य उनले सामाजिक सञ्जालमा छरिएका भिडियोमार्फत् देख्दै आएकी थिइन्।

‘आज पनि त्यस्तै होला भन्ठानेर हामी असाध्यै उत्साहित थियौं,’ उनले भनिन्, ‘तर, भएन।’

नदीमा डुबुल्की मारेर पुण्य कमाउन पाएकामा भने असाध्यै रमाइलो लागिरहेको उनी सुनाइरहेकी थिइन्।

ममता १२ जनाको समूह बाँधेरै कोलकातादेखि माघी स्नान गर्न मेलासम्म आइपुगेकी हुन्। यहाँबाट करिब सय किलोमिटर परको जौनपुरस्थित मूलथलोबाटै विस्तारित उनीहरूको परिवार बसाइँ सर्दै उता पुगेको हो। त्यसै परिवारका हाँगाबिंगाको यो टोलीमा ३१ वर्षीया ममता सबभन्दा कान्छी हुन्।

डुंगा हाँक्ने तन्नेरी अजयले तीर्थालुहरूलाई संगमसम्म पुर्‍याउने काम तीन वर्षदेखि गर्दै आएका छन्। उनका अनुसार यो मेला जहिले पनि व्यवस्थित तवरले आयोजना हुँदै आएको छ। भीड घरिघरि सलहजस्तो बग्दै अनियन्त्रित भइदिँदा मानिसलाई जोगाउन प्रहरीले ‘होल्डिङ एरिया’ तोकेका हुन्छन्। त्यसैगरी साँघुरा स्थानहरूमा धेरै मानिस नच्यापिऊन् भनेर पनि पैदलयात्रीको उचित बन्दोबस्त मिलाउने गरिन्छ।

यस्तो भिडभाडमा कुनै मानिस हराएछ भने खोज्नै घन्टौं लाग्ने गर्छ।

‘तै पनि यी मेलाहरूमा मानिस हराउनु भनेको आम समस्या हो,’ उनी थप्छन्, ‘प्रशासनले पनि त्यसरी हराएका मानिसलाई पत्ता लगाएरै छाड्छ।’

पछिल्लो समय अजयलाई केही नौलो कुराको आभास मिलेको छ। हिजोआज मेलाका हाकिमहरूले जताततै क्यामरा प्रयोग गरेको देख्दा उनी चित खाएका छन्।

‘उ… त्यो माथि हेर्नुस् न,’ उनले नदी माथि उड्दै गरेको ड्रोनतर्फ औंल्याए, ‘यसले यहाँका सबै गतिविधि नियालिरहेको छ।’


गएको कुम्भ मेलामै आइसिसिसीले यस्ता क्यामरा उपयोगी हुन्छन् भन्ने साबित गरिदिएको हो। मेलाको अवधिमध्ये विशेषगरी मौनी अमावश्यको दिन यस स्थानमा पाँच करोड मानिसको भीड जम्मा भएको थियो। त्यतिखेर भयावह संकट गराउन सक्ने एउटा ठूलै दुर्घटना अधिकारीहरूले टारिदिएका थिए।

त्यस दिन बिहान करिब पाँच बजेकै शुभ साइतमा स्नान गरिसकेपछि एक्कासि दसौं लाख मानिस एकैपटक घर फर्कने हिसाबले इलाहाबाद रेल्वे स्टेसनतर्फ खनिए। केही मिनेटमै भीड त थामिनसक्नु भइदियो।

‘मानिस एक इन्च पनि अगाडि बढ्न नसक्ने गरी भीड जाम भइदिएको थियो,’ प्रयागराज स्मार्ट सिटीका प्रशासक सिंह सम्झन्छन्, ‘त्यो बेला सिंगो भेग तनावग्रस्त बन्न पुगेको थियो।’

त्यसरी अड्किएको समयले सन् २०१३ को कुम्भ मेलामा मच्चिएको भागदौड सम्झाइरहेको थियो, जति बेला इलाहाबाद रेल्वे स्टेसनमा ३८ जनाको ज्यानै गएको थियो।

यसरी उस्तै घटना दोहोरिन सक्ने परिस्थिति निम्तनुले कमजोरी इंगित गर्थ्यो।

तर, कुरो अर्कै परेछ। उत्तरप्रदेश सरकारले भीडलाई तत्काल बाहिर लैजान झन्डै ६ हजारवटा बस परिचालन गर्नुपर्नेमा चुकेको रहेछ। त्यस्तो अवस्थामा उत्तरी केन्द्रीय रेल्वेका पदाधिकारीले यति भीड जम्मा हुन्छ भन्ने अनुमानै नगरेकाले पर्याप्त रेल बन्दोबस्तै गर्न सकेनछन्। प्रहरीको भीड नियन्त्रण क्षमता पनि गोलमाल बन्न पुगेछ। यी कुरा छानबिनपछि पत्ता लागेको थियो।

प्रयागराजमा भीडका कारण हुने दुर्घटना कुनै नौलो भने होइन।

सन् १८२० यता आधा दर्जनभन्दा बढीपटक कुम्भ मेलामा भागदौड मच्चिइसकेको छ। भारत स्वतन्त्र भएपछिको सन् १९५४ को पहिलो कुम्भ मेलामा यस्तै भागदौडको आतंकमा पाँच सय मानिसले ज्यानै गुमाएका थिए भने दुई हजारभन्दा बढी घाइते बन्न पुगेका थिए।

जे भए पनि यसपालि चाहिँ ‘आर्टिफिसियल इन्टेलिजेन्स’ जडित क्यामराहरू जताततै लगाइएकाले कुनै पनि भिडभाडयुक्त स्थलमा सुरक्षा घेरो नाघ्नेबित्तिकै तत्काल जानकारी प्राप्त हुन्थ्यो, जसले त्यस्तो भागदौडको सम्भावना क्षीण देखिन्थ्यो। यस्तो प्रविधिले भीड नियन्त्रण गरेको भारतमै यो पहिलो घटना थियो।

त्यसबाहेक यसपालि रेल्वे व्यवस्थापनले मोतीलाल नेहरू नेसनल इन्स्टिच्यूट अफ टेक्नोलोजीको सहकार्यमा ‘क्राउड सिमुलेसन टुल’ विकास गरेको थियो, जसले कुनै पनि मानिस रेल्वे स्टेसनमा प्रवेश गरेको क्षणदेखि रेलमा सवार भएको क्षणसम्म कति समय लागिरहेको छ भन्ने गणना गरिदिन्थ्यो। त्यो गणनाकै आधारमा उनीहरूले इलाहाबाद रेल्वे स्टेसनले एक घन्टामा दस हजारसम्म रेल्वे यात्री व्यवस्थापन गर्न सक्ने पत्ता लगाउँदै त्यति यात्रीलाई सुरक्षित राख्ने उपाय अवलम्बन गर्ने व्यवस्था पनि मिलाएका थिए।

यता आइसिसिसी मुख्यालयमा अधिकारीहरूले जन्स्टनगञ्ज जंक्सनलाई घेराबन्दी गर्ने निर्देशन जारी गरिसकेका थिए, जुन इलाहाबाद स्टेसनको बाटैमा पर्छ। त्यसैगरी मैदानमा १५ हजार मानिस प्रयोग गरेर मानव सांग्लो तयार पार्न लगाइएको थियो। त्यसैगरी ३० हजार मानिसको भीड सडकबाट पन्छाउन १६ हेक्टर फराकिलो बगैँचातर्फ मोड्ने काम गरिएको थियो।

रेल्वे स्टेसन होलो पार्दै त्यहाँको काम सामान्य हिसाबले जारी राख्न थप कति संख्यामा रेल आवश्यक पर्छ भन्ने पनि आइसिसिसीले क्यामराबाटै प्राप्त जानकारीका आधारमा तय गरिरहेको थियो। साँझ पर्दा नपर्दै त्यस स्टेसनमा थप ७५ रेलको बन्दोबस्त भइसकेको थियो। त्यसबाहेक नियमित रूपमै तीन सयवटा यात्रुवाहक रेलहरू त चलेकै थिए, जसले प्रत्येक रेलमा पाँच सयदेखि एक हजार तीर्थयात्री बोक्ने पूर्वसहमति थियो।

अवस्था सामान्य पार्न अधिकारीहरूलाई केही घन्टै लागेको थियो। यसैको परिणाममा रात नपर्दै सडक र रेल्वे स्टेसनहरू भीडमुक्त भइसकेका देखिन्थे। मेलाको अर्को किनारातिर भागदौड मच्चिँदा भने एक दर्जनजति तीर्थयात्री घाइते भएको खबर आए पनि कुनै हताहती भएको थिएन।

यसरी अर्को ठूलो सम्भावित दुर्घटना टरेको थियो।


फेब्रुअरी ४ तारिख, रातको ९ बजिरहेको छ। अनुगमन कक्षका एक प्रहरी हवल्दारले टेन्ट गाडिएको सहरबाट भिडियोमा आइरहेको कुनै जानकारी देखे। त्यस दिन त्यतिन्जेलसम्म खासै कुनै बित्यास पार्ने घटना भएको थिएन।

नजर भिडियोको पर्दामा हुँदाहुँदै पनि ती हवल्दार आफ्ना साथीहरूसँग अब बचेका दुईवटा ठूलो स्नान उत्सवबारे चर्चा गरिरहेका थिए। अब मेला कति दिन बचेको छ र आफूहरूको यस्तो बाह्रघन्टे ड्युटी अझै कतिवटा बाँकी छन् भन्ने कुरामै उनीहरू गफिइरहेका थिए।

‘अरे… यो के हो?’ उनी अचानक चिच्याए। त्यसभन्दा पहिले नै उनले जुम गरेर त्यो क्षेत्रलाई नजिकबाट हेरिसकेका थिए। त्यहाँ धुवाँ उड्दै गरेको दृश्य देखिन्थ्यो।

‘आगलागी भयो,’ उनी फेरि चिच्याए।

उनले तुरुन्तै फोन उठाएर वायरलेस दस्तालाई खबर गरिहाले।

‘टेन्टमा आगलागी भएको छ! भर्खरै सल्केको देखिन्छ।’

त्यो आगो यस्तो संवेदनशील ठाउँमा सल्किएको थियो, जहाँ हजारौं तीर्थयात्रीले एकापसमा जोडेरै आ–आफ्ना टेन्ट गाडेका थिए।

वायरलेस दस्तामा यो खबर पुग्नेबित्तिकै उनीहरूले मैदानमा खटिएका टोलीलाई तुरुन्त जानकारी दिइहाले। निमेषभरमै त्यहाँ वारुणयन्त्रको टोली पुग्यो र आगलागीमाथि नियन्त्रण कायम गर्‍यो। तीर्थयात्रीहरूले आफ्नै परिवेशमा के भइरहेको छ भन्ने थाहा पाउनुअगावै यो सारा गतिविधि एक मिनेट पनि नलाग्दै सामसुम भइसकेको थियो।

‘आगो नै देख्न नपाएका मानिसले त्यस स्थानमा आगो निभाउन आएकाहरू देख्दा अचम्म माने,’ वार रुमबाट अग्नि नियन्त्रकहरूलाई परिचालन गर्ने एसएस दुबे भन्दै थिए।

मेलामा आउने धेरैजसो मानिस टेन्ट गाडेर त्यसै स्थानमा खाना पकाउने गर्छन्। यस्तोमा उनीहरूले बाल्ने ग्यास चुह्लोबाट बारम्बार आगो अनियन्त्रित भइरहने गर्छ।

‘यो मेलामा मात्रै कम्तीमा चारपटक त्यस्तो भइसकेको छ,’ माघ मेलामा खटिएका अतिरिक्त प्रहरी उपरिक्षक आशुतोष मिश्रा भन्छन्, ‘र, प्रत्येक घटनामा हामी दुई मिनेटभित्रै आगलागी स्थलमा खटिसकेका थियौं।’

यसरी आइसिसिसी स्थापना हुनुभन्दा पहिले यस्ता आगलागीका जुनसुकै घटना मानिसले आएर दिएको मौखिक जानकारीका भरमा मात्र थाहा लाग्ने गरेको रेडियो सब-इन्स्पेक्टर सञ्जय कुमार बताउँछन्।

‘र, त्यतिन्जेलसम्म,’ उनले थपे, ‘आधा मेला त जलेर खरानी भइसक्थ्यो।’

आगलागीबाहेक मैदानमा खटिएका प्रहरीले धेरैथोक सम्हालिरहेका हुन्छन्, जसमा स–साना पटके अपराधदेखि भागदौडसम्म पर्छन्।

‘प्रहरीको टोली प्रत्येक २० देखि ५० मिटर दुरीमा खटिएका हुन्छन्,’ मिश्रा भन्छन्, ‘उनीहरू हरक्षण कन्ट्रोल रुमसँगको सम्पर्कमा रहन्छन्।’

बेलाबेला फैलिने नचाहिँदा अफवाहहरूले पनि परिस्थिति जटिल बनाउने गर्छ। त्यस्तो बेला अधिकारीहरूले प्रविधिबाटै वास्तविकता के हो भन्ने फेला पारेर तत्काल जनसामान्यलाई आश्वस्त पार्न सक्छन्। यस्तो बेला मैदानमा खटिएका प्रहरीले ‘हामीले कन्ट्रोल रुमसँग सोधिसकेका छौं। त्यस्तो केही भएको छैन’ भनेर ढुक्क पारिदिन्छन्।

यसले उनीहरूलाई झिनामसिना समस्या समाधान गरिदिन मद्दत गरिरहेको छ। जस्तो, मेलामा हराएका तीर्थयात्री खोजिदिनेदेखि नक्कली पण्डाको चक्करमा ठगिनबाट जोगाउनेसम्म।

यी सबै कुराका आधारमा सब-इन्स्पेक्टर जितेन्द्रकुमारलाई लाग्छ, आइसिसिसीले भुइँको सबथोक नियाल्न मिल्ने गरी उनका आँखालाई आकाशमा लगेर राखिदिएको छ।

‘मैले डेढ किलोमिटर क्षेत्रफलभित्रको दायित्व लिएको छु,’ उनी भन्छन्, ‘यी सबै प्रविधि नहुँदा हुन् त यस क्षेत्रका सक्दो सबै गतिविधि नियाल्दै तत्काल कहाँ के गर्नुपर्छ भनेर कसरी थाहा पाउँथेँ?’


मेलालाई माथिबाट नियाल्न प्रहरीले ठाउँ-ठाउँमा मचानहरू पनि उभ्याएका छन्। त्यसै मचानको नजिकै लाउडस्पिकर पनि झुन्ड्याइएको छ, जसले दिनभरि मेलामा आफन्त तथा परिवारजनसँग छुट्टिएका मानिसको नाम र विवरण भट्याइरहने गर्छ। त्यहीँनिर माइक बोकेर बोलिरहेका मानिस पनि देखिन्छन्, जसले घरिघरि त्यो माइक त्यसरी आफन्त हराएर बिचल्लीमा परेका तीर्थयात्रीलाई पनि थमाइदिन्छन्।

‘ए राहुलके पाप्पा। हम राहुलके मम्मी। सुन रहे हैं? जल्दी आइये यहाँ…’

(ए राहुलका बा। म राहुलकी आमा बोल्दैछु। सुनिरहनुभएको छ? यता झट्ट आउनुस्…)

भारतका स–साना सहरहरूमा दाम्पत्य जीवन अघि बढाइरहेका श्रीमतीलाई तिनका श्रीमानको नाम काढेर बोलाउनुभन्दा सन्तानको बाका रूपमा पुकार्न सजिलो हुन्छ। अनि त्यसरी पुकारिने नाम हुनुको सौभाग्य प्रायः जेठो सन्तानले पाउने गर्छन्।

यो वर्ष प्रहरीले यसरी हराउनेहरूको सूचना प्रवाह गर्न पनि कम्प्युटरको प्रयोग थालनी गरेको छ। यसअनुसार सम्पूर्ण तथ्यांक केन्द्रीय सर्भरमा जम्मा हुने गर्छन्, जसबाट हराएका मानिसका विवरणअनुसार तत्कालै खोजी गर्न सजिलो परेको देखिन्छ। यसरी अत्याधुनिक हिसाबले सुसज्जित ‘हराएको मानिस खोजिदिने केन्द्र’ लाई अहिले पनि केही झिनामसिना समस्या चाहिँ परिरहेकै छन्।

त्यस साँझ पनि डेस्कमा बसेकी एक हवल्दारलाई सर्भरसँग जोडिन मुश्किल परिरहेको देखिन्थ्यो।

‘एक दिन होइन, दुई दिन होइन, सधैं यस्तै भइरहन्छ,’ उनी भन्दै थिइन्।

यसरी प्रविधि जडान गर्ने काम सम्पन्न भए पनि धेरैजसो प्रहरीले त्यसलाई कसरी सही तवरबाट परिचालन गर्ने भन्ने सूचना प्रविधि वा नेटवर्कको तालिम पाएकै हुँदैनन्। त्यसैले, ती हवल्दारले सजिलो समाधान निकालिन्। आफूले पाएको मानिस हराएको सूचना उनले त्यतै लाउडस्पिकरबाट चिच्याइरहेका मानिसलाई जिम्मा लगाइदिइन्।

यसरी जति बेला यो मेलालाई अत्याधुनिक उपकरण र प्रविधिले सुसज्जित पार्दै लगिएको छ, ठिक त्यति बेलै यहाँ ‘माइक’ र ‘लाउडस्पिकर’ बाटै काम चलाउने परम्परागत विधिले पनि समस्याको समाधान निकालिरहेकै देखिन्छ।

जे होस्, यस्ता परम्परागत मेलाको सबभन्दा महत्वपूर्ण पक्ष भनेको दसकौंदेखि जम्मा हुँदै आएका अनुभवका आधारमा यसलाई कसरी व्यवस्थित ढंगले अघि बढाउने भन्ने नै हो। जस्तो, कुन ठाउँमा सुरक्षाकर्मीहरू तत्काल परिचालन गर्ने र ठूलो संख्यामा पैदल बढिरहेको भीडलाई कसरी व्यवस्थित गर्ने?

अर्कातिर यो आफैंमा अनौठो देखिन्छ, लाखौं डलर खर्च गरेर जडान गरिएका यी अत्याधुनिक प्रविधिले ती दसौं लाख धार्मिक व्यक्तिहरूको सेवा र सुरक्षा गरिरहेको छ, जसले आफ्नो निजी जीवनमा विरलै यी प्रविधिसँग नजिकिने मौका पाएका हुन्छन्।

जे भए पनि जुन व्यक्तिहरू आफूलाई पुनर्जन्मको चक्रबाट मुक्त पार्न र मोक्षप्राप्तिको मार्गमा लागिरहेको बताउँछन्, त्यस्ताले बुझ्दै नबुझ्ने कुरा त यो पनि पक्कै होइन होला!


यता प्रयागराज सिटीस्थित आइसिसिसीभित्र सहायक प्रबन्धक विपिन सिंह मेलाबाट बाहिरिनेहरू र रेल्वे स्टेसनका दृश्य भिडियोमा निरीक्षण गर्दै यताउति गरिरहेका छन्। मेलामा कसरी सजिलै भीड नियन्त्रित भयो भन्ने कुराले उनी प्रसन्न देखिन्छन्। पोहोर कुम्भ मेलाले जहाँ एकातिर उनको समूहलाई यी प्रविधि कसरी प्रयोग गर्ने भन्ने अभ्यास गराएको थियो, त्यहीँनिर यो असाध्यै सानो माघ मेलाले चाहिँ त्यस अनुभवलाई अझ निखार्दै प्रभावकारी ढंगले प्रयोग गर्ने अवसर दिएको छ।

‘अझ विस्तारमा प्रविधिलाई बुझ्ने गरी यो मेलाबाट हामी थप बढी तथ्यांक जम्मा गर्दैछौं,’ उनले भने।

उदाहरणका लागि, यस मेलाबाट हुने फोहोर विसर्जनको समस्याबारे पनि प्रविधिले सघाउ पुर्‍याएको उनी बताउँछन्।

मेलालाई सफा बनाउन प्रविधिकै माध्यमबाट फोहोर फाल्ने भाँडोहरूलाई पनि व्यवस्थापन गर्न सकिएको उनले बताए। त्यसनिम्ति क्यामराहरूमा जडित ‘आर्टिफिसियल इन्टेलिजेन्स’ ले फोहोरका भाँडा भरिनेबित्तिकै जानकारी दिने गर्थ्यो। त्यसबाहेक फोहोर फाल्ने भाँडोमै पनि यस्तो प्रविधि लगाइएको थियो, जसले भरिनेबित्तिकै त्यसको संकेत नजिकैको फोहोर उठाउने ट्रकसम्म स्वचालित रूपमै लगिदिन्थ्यो।

सिंहको टोलीले एउटा यस्तो प्रणाली पनि विकास गरिरहेको छ, जसले फोहोर फाल्ने मानिस देख्नेबित्तिकै स्वचालित रूपमा फोटो खिचिहाल्छ।

‘हामीले अहिले आन्तरिक रूपमा यो प्रणाली कहाँनिर फोहोर फ्याँकिएको छ भन्ने पत्ता लगाउन मात्र प्रयोग गरिरहेका छौं,’ उनी प्रस्ट पार्छन्, ‘त्यसरी फोहोर फ्याँक्ने मानिस को हो भन्नेबारे चाहिँ खोजिहालेका छैनौं।’

माघ मेलामा प्रयोग गरिएको प्रणाली आफैंमा भारतमा निगरानी प्रविधिको बढ्दो भूमिका देखाउने थप उदाहरण बन्न पुगेको छ।

भारतीय नागरिकहरूको बायोमेट्रिक परिचयपत्र तयार पार्ने ‘आधार कार्ड’ योजना अघि बढाउने क्रममा सन् २०१७ मा सर्वोच्च अदालतले वैयक्तिक गोपनियताको हकलाई मौलिक अधिकारका रूपमा व्याख्या गरिदिएको थियो। यद्यपि यसले निगरानी विस्तार गर्न अझ विशेष गरी दैनिक जीवनमा अनुहार पहिचान प्रविधि प्रयोग गर्नबाट मोदी सरकारलाई निषेधै चाहिँ गरेको थिएन।

त्यसैगरी सन् २०१९ डिसेम्बरमा प्रहरीले दिल्लीमा आयोजित र्‍यालीका मानिस पहिचान गर्ने सफ्टवेयर प्रयोग गरेको थियो। त्यसै महिना केन्द्रीय सरकारले ‘पर्सनल डेटा प्रोटेक्सन बिल’ जारी गर्दै कम्पनीहरूबाट अनाम निजी डेटा झिक्न पाउने हक प्रदान गरिदिएको थियो।

यतिखेरै पनि बेंगलोर र हैदराबादस्थित अन्तर्राष्ट्रिय विमानस्थलहरूमा अनुहार पहिचान गर्ने प्रणाली परिचालित भइसकेका छन् भने मोदी सरकारले भर्खरै संसारकै सबभन्दा ठूलो अनुहार पहिचान गर्ने प्रणाली स्थापना गर्ने तयारी थालिसकेको छ। भर्खरै बितेका महिनाहरूमा कोभिड-१९ सँगको लडाइँका क्रममा प्रहरीले अनुहार पहिचान गर्ने प्रणाली र ‘आर्टिफिसियल इन्टेलिजेन्स’ जडित क्यामराहरूको प्रयोग पुना र हैदराबादजस्ता सहरमा गर्दै आएको छ।

भारतको सर्वोच्च अदालतमा साइबर कानुनबारे विज्ञता हासिल गरेका न्यायकर्मी एनएस नाप्पीनाइका अनुसार तत्काल मुलुकमा प्रविधि परिचालन गर्न कुनै ठोस कानुन तयार भइसकेको छैन। त्यसैगरी यस मामलामा पर्याप्त कानुनी नजिरहरू पनि खडा भइसकेको अवस्था छैन।

‘यस्तो परिस्थितिमा माघ मेलाका सहभागीको पर्याप्त निजी विवरण संकलन गर्ने, प्रयोग गर्ने र अनुहार पहिचान प्रविधिमार्फत् उपयोग गर्नेजस्ता काम मेला अवधि र त्यसपछि पनि हुन सक्छन् भनेर उनीहरूलाई सतर्क गराउन चाहन्छु,’ नाप्पीनाइ भन्छन्।

मेला भर्ने अधिकांशलाई त यो विवादबारे थाहै छैन। तीर्थालुहरूबाट संकलित व्यक्तिगत विवरणलाई लिएर उठाइने प्रश्नलाई पनि मेलाका अधिकारीहरूले लगातार पन्छाउँदै आइरहेको देखिन्छ। ती तमाम क्षणहरूमा उनीहरूले यस सवाललाई सुरक्षा चाँसोसँगै लगेर जोडिदिने गर्छन्।

‘हासिल गरेका सबै अनुभवका आधारमा हामी भरपर्दो प्राविधिक समाधानका उपाय लागू गर्ने तयारीमा छौं। आगामी माघ मेला अझ उन्नत स्तरको प्रविधिले सुसज्जित हुनेछ,’ सिंह भन्छन्।


दिन ढल्दै जाँदा ममता शर्मा आजको अनुभवसँग दंगदास छिन्।

‘यत्रो मेलामा न दौडादौड देखियो न धक्काधुक्की,’ उनी भन्छिन्, ‘असाध्यै भीड हुँदाहुँदै पनि हामी आरामले हिँड्न सकिरहेका थियौं। मलाई आफूसँग आएका बुढापाकाहरूको चिन्ता लागिरहेको थियो। तर, सब सहजै सम्पन्न भयो।’

‘मलाई थाहा छैन, यस्तो व्यवस्थापन कसरी सम्भव भयो,’ ममताले भनिन्, ‘तर, उनीहरूले मेलालाई एकदमै व्यवस्थित बनाएका छन्।’

मेला अझै १२ दिन हाराहारी चलेपछि अन्तिममा फेरि ठूलो भीड जुट्नेछ। तर, एक दिनको निम्ति आएका भक्तहरू धमाधम फर्कंदै छन्। तीर्थाटन गर्न आएकाहरूको क्याम्प पनि धमाधम खाली हुँदैछन् र टेन्टहरूबाट सारी र तन्नाहरू उठिरहेको देखिन्छ। महिलाहरू स-साना पोकामा आफ्ना सामान कस्न व्यस्त छन् भने लोग्नेमानिसहरू त्यस्ता पोका उठाउँदै धमाधम सवारीसाधनमा थुपार्दै छन्। कोही कोही भने घर जानुअघि प्लास्टिकका डब्बामा सक्दो जल भरिहाल्ने बन्दोबस्तका लागि दौडिरहेका पनि देखिन्छन्।

अर्कातिर नदी किनारमा महिलाहरू गंगाजीको सन्ध्याकालीन आरतीका लागि घुँडा दोब्र्याएर बसिरहेका छन्। एक हुल किशोरीहरू माटोका पालामा दियो जलाएर बग्दै गरेको पानीमाथि राखिरहेका छन्। अघिल्लो रात मात्रै लगनगाँठोमा जोडिएका बेहुला-बेहुलीले अझै पनि बिहेको लुगा खोल्न भ्याएका छैनन्। उनीहरू संगमतिर ढोग्दै आशीर्वाद मागिरहेका छन्।

त्यतै आसपास डुंगा खियाउने तन्नेरी भने फोटो खिच्न आफ्नै धुनमा पोज दिइरहेको देखिन्छ। डुंगामाथि चढेर क्यामरा सामुन्ने फैलाइरहेको हातको तालसुर हेर्दा उनमा बलिउडको प्रशस्तै प्रभाव छ भन्ने बुझिन्छ।

रामनामी ओढेका एक जना वृद्ध स्कुटरबाट बैशाखी निकालेर नदीको छेवैमा उभिँदै प्रार्थना गर्न थालेका छन्। उनका अघिल्तिर संगमको सुनौलो पानी विस्तारै खरानी रङको साँझसँग घोलिँदै गएको देखिन्छ।

अब मेलामा सूर्यास्त भएको छ।